उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न दक्षिण कोरियाली राष्ट्रपतिको आह्वान
काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित गर्दै वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।
दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट हुँदा तीन दक्षिण कोरियाली सैनिक घाइते भएको केही दिनपछि राष्ट्रपति लीको यस्तो आह्वान आएको हो ।
दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनःस्थापना र वार्ता प्रक्रियामा सहभागी हुने आशा व्यक्त गरे ।
यसअघि दक्षिण कोरियाले डिएमजेडमा भएको विस्फोटका लागि उत्तर कोरियालाई जिम्मेवार ठहर गर्दै माफी माग्न आग्रह गरेको थियो । दक्षिण कोरियाली सेनाले घटनालाई युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ ।
तर उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले घटनामा आफ्नो देशको संलग्नता अस्वीकार गर्दै दक्षिण कोरियाको अनुसन्धान निष्कर्षलाई गलत र तथ्यहीन भएको बताएकी छन् ।