नेपालले भारतलाई ८५.६ मेगावाट बिजुली बेच्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बिक्री गर्ने भएको छ ।
प्राधिकरणले आफ्ना ग्राहकलाई बिक्री गरेर बाँकी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गर्ने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगको सहमतिपछि प्राधिकरण सञ्चालक समितिले विद्युत खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गर्दै बिजुली बिक्रीको निर्णय गरेको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए ।
सम्झौताअनुसार १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म ८५.६ मेगावाट विद्युत भारतमा बिक्री गरिनेछ । दुई पक्षबीच पारस्परिक सहमति भएमा भविष्यमा विद्युत बिक्रीको क्षमता थप गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।
प्राधिकरणका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्णयमा हस्ताक्षर गर्दै सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई अख्तियारी दिएका छन् ।