रासायनिक मल कारखाना स्थापनापछि उत्पादित मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गरेकी हुन् ।
मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार कार्यदलले नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना तथा विद्यमान कानुनी र नीतिगत व्यवस्थाबारे अध्ययन गर्नेछ । साथै, आवश्यक संस्थागत संरचनाबारे पनि सुझाव दिनेछ ।
कार्यदलले विद्यमान व्यवस्था अध्ययन गरी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी व्यवस्था, प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्नेछ । प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ ।