बाढीले वडा कार्यालय भवन बगाएपछि वडाध्यक्षको मन कुँडियो
बागलुङ । दरमखोलामा आएको बाढीले आफ्नै कार्यकालमा निर्माण भएको वडा कार्यालय भवन बगाएपछि गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापा दुःखी भएका छन् ।
विसं २०७४ मा थापा वडाध्यक्षमा निर्वाचित भएपछि स्थानीयवासीको पहल र नगरपालिकाको ८० लाख रुपैयाँ बजेटबाट तीन रोपनी जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको थियो । स्थानीयवासी र वडाको पहलमा भवनलाई आवश्यक स्रोतसाधनले समेत सुविधायुक्त बनाइएको थियो ।
गत आइतबार दरमखोलाको कटान बढ्दै गएपछि साँझ करिब ४ बजे वडा कार्यालय भवन जगैदेखि ढलेर खोलामा पुगेको हो । भवनसँगै करिब १५ लाख रुपैयाँमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ । नदीको कटान बढेपछि स्थानीयवासीले कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामग्री भने सुरक्षित स्थानमा सारेका थिए ।
वडाध्यक्ष थापाले आफ्नो धानखेत बाढीले बगाएको भन्दा वडा कार्यालय भवन नष्ट हुँदा बढी दुःख लागेको बताए । ‘मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ,’ उनले भने ।
बाढीले वडा नम्बर ९ का केही घरगोठ र ठूलो क्षेत्रफलको धानखेतमा समेत क्षति पुर्याएको छ । नगरपालिकाका अनुसार प्रारम्भिक विवरणमा गलकोट क्षेत्रमा २२ घरगोठमा क्षति पुगेको छ भने सरकारी तथा निजी गरी करोडौँ रुपैयाँको भौतिक क्षति भएको छ । नगरप्रमुख भरत शर्मा गैरेले प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःनिर्माणका काम अघि बढाउने बताएका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोबाट गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित भएका छन् । जिल्लामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको जनाइएको छ ।