राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
वैशाख २८ गतेदेखि सुरु भएको चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन निर्माण गरेको थियो । यस अवधिमा संसद् अधिवेशन नभएको समयमा सरकारले जारी गरेका अध्यादेशसमेत संसद्बाट स्वीकृत भएका थिए ।
यस्तै, ती अध्यादेशले संशोधन गरेका विषयलाई समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भएर ऐनमा रूपान्तरित भएका छन् । अधिवेशन अन्त्य भएसँगै संघीय संसद्का दुवै सदनको नियमित बैठक प्रक्रिया तत्कालका लागि समाप्त भएको छ ।