अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायका लागि आवाज उठाउँदै गाउँपालिका
कास्की । अन्नपूर्ण गाउँपालिकाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि अन्नपूर्ण आधार शिविर (एबीसी) बाट आवाज उठाएको छ ।
चार हजार १३० मिटर उचाइमा रहेको एबीसीमा बुधबार गाउँ कार्यपालिकाको विशेष बैठक बसेर हिमाली क्षेत्रको संरक्षण, जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायको उत्थानशीलताबारे छलफल गरिएको हो ।
यस वर्षको मनसुनमा मोदीखोला र किम्रुङ खोलामा आएको बाढीले सडक, होटललगायतका पूर्वाधारमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । बाढीका कारण घान्द्रुकको पोखरासँगको सडक सम्पर्कसमेत करिब ४० दिन अवरुद्ध भएको थियो ।
बैठकले जलवायु उत्थानशीलता कार्ययोजना तयार गर्ने, ११ वटै वडाको जलवायु जोखिम तथा संवेदनशीलता नक्सा बनाउने र पूर्वसूचना प्रणाली विकास गर्ने निर्णय गरेको छ । साथै जलवायु जोखिमलाई ध्यानमा राखेर सडक, पुल, पदमार्गलगायतका पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।