काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सतुंगल, मच्छेगाउँ, मुलपानी, गर्जुधारा, बलम्बु, कोटेश्वर–बालकुमारी, सिफल, धौलागिरी आवास र धोबीखोला लगायतका क्षेत्रमा फरक–फरक दिन विद्युत् कटौती गरिनेछ।
भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक कामका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ। मौसम प्रतिकूल भएमा निर्धारित कटौती नहुने बताइएको छ।
भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप सुरक्षित र भरपर्दो हुनुका साथै सहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनमा समेत सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।