देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि सुरु गर्ने भएको छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। कार्यतालिकाअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।
वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तथा ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको नेता किरणराज पौडेलले जानकारी दिए।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि संगठनलाई बलियो बनाउन नेता–कार्यकर्तालाई अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।