कांग्रेसमा ३५ वर्षमुनिका झण्डै ४४ हजार युवा नेतृत्वमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर ३५ वर्षमुनिका झण्डै ४४ हजार युवाले पार्टीका विभिन्न पदीय जिम्मेवारी पाएका छन्। कांग्रेसको नयाँ विधानमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएपछि ठूलो संख्यामा युवा पार्टी संरचनामा आएका हुन्।
विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार कुल ४३ हजार ९८६ युवाले प्रत्यक्ष पदीय जिम्मेवारी पाएका छन्। यसमध्ये ३३ हजार ७१५ जना क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ जना वडा कार्यसमिति सदस्य रहेका छन्।
नयाँ व्यवस्थाअनुसार देशभरका ६ हजार ७४३ वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना, त्यसमध्ये एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ। क्रियाशील सदस्यताको संख्याअनुसार केही वडाबाट तीनदेखि सात जनासम्म युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था छ।
यस्तै, गाउँपालिकाका वडाबाट एक जना र नगरपालिकाका वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ। यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धी रहेको र झण्डै एक लाख युवाले उम्मेदवारी दिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
नयाँ विधानले विभिन्न तहका पार्टी संरचनामा युवाको प्रतिनिधित्वसमेत सुनिश्चित गरेको छ। केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवाका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
कांग्रेसको यो अधिवेशन प्रक्रियामा युवाको सहभागिता र प्रतिनिधित्वसम्बन्धी व्यवस्था पहिलो पटक यति ठूलो संख्यामा कार्यान्वयनमा आएको कांग्रेसका पदाधिकारीहरूले बताएका छन्।