एस्सार समूहले अमेरिकामा १८ अर्ब डलर लगानीमा स्टिल प्लान्ट बनाउने
काठमाडौं । भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको आयोवा राज्यमा १८ अर्ब अमेरिकी डलर लगानीमा स्टिल प्लान्ट स्थापना गर्ने भएको छ ।
एस्सार समूहको सहायक कम्पनी मेसाबी मेटैलिक्समार्फत निर्माण हुने प्लान्टको वार्षिक उत्पादन क्षमता एक करोड टन स्टिल हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
मेसाबी मेटैलिक्सका अध्यक्ष रेवन्त रुइयाका अनुसार उक्त लगानीले अमेरिकी पूर्वाधार क्षेत्रलाई थप मजबुत बनाउन योगदान पुर्याउनेछ । रुइया परिवारले मिनेसोटामा तीन अर्ब डलर लगानीमा नयाँ लौह अयस्क खानी परियोजनामा पनि काम गरिरहेको जनाइएको छ ।
ट्रम्पका अनुसार प्रस्तावित स्टिल परियोजना खानीदेखि उत्पादन केन्द्रसम्म अमेरिकी आपूर्ति शृङ्खलामा आधारित हुनेछ । प्लान्टमा प्रयोग हुने लौह अयस्क अमेरिकामै उत्खनन गरी त्यहीँ स्टिल उत्पादन गरिनेछ ।