भोटेकोशी बाढीपीडितका लागि कास्कीबाट पौने ३ करोड सहयोग
कास्की । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट २ करोड ८३ लाख ५३ हजार ९७७ रुपैयाँ सहयोग जुटेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका ८१ वटा संघसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ। उनका अनुसार कतिपयले प्रशासनलाई जानकारी गराएर र कतिपयले प्रत्यक्ष रूपमा समेत विपद् प्रभावितका लागि सहयोग गरिरहेका छन्।
प्रशासनले राहत तथा सहयोग उपलब्ध गराउने व्यक्ति तथा संस्थाहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरणसमेत जानकारी गराउन अनुरोध गरेको छ।