हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा अमेरिकाको जवाफ मङ्गलबार आउने अराघचीको अपेक्षा
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफ मङ्गलबार प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्तासँग अमेरिका–इरानबीचको प्रस्तावबारे छलफल भएको जानकारी दिएका छन् ।
उनका अनुसार कतारी मध्यस्थकर्ताले केही प्रस्ताव तथा विचार प्रस्तुत गरेका छन् । ती विषयमा छलफल भइसकेको र मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनःवार्ता गरेपछि अन्तिम अमेरिकी प्रतिक्रिया इरानलाई पठाउने तयारी गरेको अराघचीले बताएका छन् ।
कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको पनि उनले बताए । हर्मुज जलघाँटी पुनःखोल्न इरानले अघि सारेका केही सर्त पूरा हुनुपर्ने उनको भनाइ छ ।
अमेरिका र इरानबीच जारी द्वन्द्वमा हर्मुज जलघाँटी प्रमुख विषय बनेको छ । द्वन्द्वपछि इरानले जलघाँटीमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको बताइएको छ ।
यसैबीच गत साता न्युयोर्कमा अराघची, अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरबीच पनि छलफल भएको थियो ।
इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । साथै, विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्तसमेत इरानले अघि सारेको छ ।