कर्णालीका यातायात कार्यालयबाट ३५ करोड बढी राजस्व सङ्कलन
सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड ८ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको हो। सबैभन्दा बढी सुर्खेत यातायात व्यवस्था कार्यालयबाट २९ करोड ५६ लाख ९ हजार ४१० रुपैयाँ राजस्व उठेको मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए।
जुम्लाबाट करिब २ करोड र रुकुमपश्चिमबाट ३ करोड ५७ लाख ९१ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ। कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ।
यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड तथा जरिवानाबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ।