भारतीय वित्तीय बजारबाट विदेशी लगानीकर्ताले झिके २.१ अर्ब डलर
काठमाडौं । कच्चा तेलको मूल्य वृद्धि र विश्वव्यापी ऋणपत्रको प्रतिफल बढेपछि विदेशी लगानीकर्ताले भारतीय वित्तीय बजारबाट पुनः पुँजी झिक्न थालेका छन् ।
सेप्टेम्बरमा विदेशी कोषहरूले भारतीय सेयर बजारबाट २.१ अर्ब अमेरिकी डलर बराबरको पुँजी बाहिर लगेका छन् । यसअघि लगातार दुई महिनासम्म विदेशी लगानीकर्ता भारतीय सेयर बजारमा खुद क्रेता रहेका थिए ।
सरकारी ऋणपत्रबाट पनि विदेशी पुँजी बाहिरिएको छ । सेप्टेम्बरमा विदेशी लगानीकर्ताले १.१ अर्ब डलर बराबरको भारतीय ऋणपत्र बिक्री गरेका छन् । यसैबीच, भारतको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल दुई वर्षयताकै उच्च विन्दुमा पुगेको बताइएको छ ।
कच्चा तेलको मूल्य वृद्धिले भारतमा मुद्रास्फीति बढ्नुका साथै भारतीय रुपैयाँमाथि दबाब बढ्ने जोखिम रहेको विश्लेषण गरिएको छ । विकसित मुलुकमा ऋणपत्रको प्रतिफल बढेकाले पनि भारतीय बजारमा विदेशी लगानी आकर्षित गर्न चुनौती थपिएको छ ।
यद्यपि, सेप्टेम्बरको बहिर्गमनका बाबजुद जुलाईयता विदेशी कोषहरूले भारतीय सेयर बजारमा २.७ अर्ब डलर बराबरको खुद लगानी गरेका छन् । बजार विश्लेषकहरूले आगामी दिनमा भारतीय बजारमा विदेशी लगानीको प्रवृत्ति कच्चा तेलको मूल्य, विश्वव्यापी ब्याजदर र बजार मूल्याङ्कनजस्ता पक्षमा निर्भर रहने बताएका छन् ।