महाकालीको बाढीले झोलुङ्गे पुलमा ७५ मिटर क्षति, आवागमन बन्द
काठमाडौं । स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय संसदमा उठाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कञ्चनपुर–३ बाट निर्वाचित सांसद महताले मंगलबार राति करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भँगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्याउँदा करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए ।
पुलमा क्षति पुगेपछि दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए । तत्काल प्राविधिक टोली खटाएर पुलको विस्तृत अध्ययन, पुनर्निर्माण तथा संरचनागत सुरक्षाको जाँच गरी यथाशीघ्र आवागमन सञ्चालन गर्न उनले सरकारसँग माग गरे ।
भविष्यमा महाकाली नदीको बाढी र कटानबाट पुल तथा आसपासका संरचना जोगाउन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन योजनाका लागि बजेट र प्रक्रिया सुनिश्चित गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए ।
दोधारा चाँदनीका नागरिकलाई सदरमुकाम महेन्द्रनगर पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २०६१ सालमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको थियो ।