चीनसँग जोडिएका तीनवटै प्रमुख नाका बन्द, वैदेशिक व्यापार प्रभावित
काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोका कारण चीनसँग जोडिएका नेपालका तीनवटै प्रमुख सडक नाका अवरुद्ध भएका छन् । रसुवा, तातोपानी र मुस्ताङको कोरला नाका बन्द हुँदा दुवै मुलुकबीचको वैदेशिक व्यापार प्रभावित भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा नाकातर्फका सडक, पुल, भन्सार तथा अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । दुवैतर्फको सीमावर्ती क्षेत्रमा क्षति भएकाले रसुवागढी–केरुङ नाका तत्कालै पूर्णरूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।
भोटेकोशी बाढीपछि तातोपानी नाका पनि अवरुद्ध हुँदै आएको छ । रसुवा र तातोपानी नाका बन्द भएपछि केही समय मुस्ताङको कोरला नाकाबाट व्यापार सञ्चालन हुँदै आए पनि असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षाका कारण कालीगण्डकी करिडोर आसपासका सडक तथा पुलमा क्षति पुगेपछि कोरला नाका पनि बन्द भएको हो ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार तीनवटै नाका बन्द हुँदा चीनबाट आयातका लागि ल्याइएका ७०० भन्दा बढी कन्टेनर चिनियाँ भूमिमै रोकिएका छन् । उनका अनुसार करिब पाँच अर्ब रुपैयाँ बराबरका वस्तु तथा सामानसमेत रोकिएका छन् ।
सङ्घका पूर्वअध्यक्ष अशोक श्रेष्ठले चाडपर्वलाई लक्षित गरेर आयात गरिएका सामान चीनमै रोकिँदा व्यवसायी थप समस्यामा परेको बताए । उनले कूटनीतिक पहलमार्फत तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवा भन्सार हुँदै ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरका वस्तु आयात भएका थिए । सोही वर्ष यस नाकाबाट ८९ करोड ४६ लाख एक हजार रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए ।
तातोपानी भन्सारबाट सोही आवमा ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएका थिए । मुस्ताङ नाकाबाट १४ अर्ब ४० करोड ६७ लाख २८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको विभागको तथ्यांक छ ।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चिनियाँ राजदूत वाङ माओमिङसँग भेटवार्ता गर्दै रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
चिनियाँ राजदूत वाङले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्न विशेष अध्ययन गर्न सकिने बताएका छन् । उनले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै नेपालबाट विशेष प्रस्ताव आए आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।