भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि राष्ट्रिय प्रसारण प्रणालीबाट ४३० मेगावाट विद्युत् बाहिरिएको छ ।
बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि सरकारले काठमाडौं उपत्यकासहितका क्षेत्रमा वैकल्पिक आपूर्ति व्यवस्थापनको तयारी तीव्र बनाएको छ ।
त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली जोड्ने प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् प्रणालीमा चाप परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ गठन गरेर वैकल्पिक आपूर्ति प्रणाली विकासको काम अघि बढाएको छ ।
आगामी हिउँदमा हुन सक्ने विद्युत् चापलाई ध्यानमा राख्दै मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणबारे छलफल गरेको छ । छलफलमा सडक विभाग र महानगरका अधिकारीले भूमिगत तार व्यवस्थापन तथा ग्रिड निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाडौं उपत्यकाको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वितरण प्रणालीलाई थप सुदृढ र व्यवस्थित बनाइनेछ । उपत्यकाको विद्युत् आपूर्ति सहज बनाउन सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको उनीहरूले बताएका छन् ।