जटिल प्रसूति समस्यापछि धादिङकी २४ वर्षीया ममताको हवाई उद्धार
काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिका–५ की २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि मंगलबार हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।
जटिल प्रसूति समस्याका कारण स्वास्थ्य अवस्था जोखिममा परेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनाद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्याइएको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।