आजदेखि पूर्णरूपमा सञ्चालनमा आउँदै पृथ्वीराजमार्ग
धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा आज दिउँसो १ बजेदेखि पृथ्वीराजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउनेछन् ।
विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
आवश्यक सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।