बागलुङमा बाढीपहिरोको क्षति : १२ जनाको मृत्यु, १ जना बेपत्ता
बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ६१ घर तथा गोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। निसीखोला, तमानखोला, बडिगाड, काठेखोला, ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीले गलकोट नगरपालिका–९ को वडा कार्यालय तथा तीनवटा झोलुङ्गे पुल बगाएको छ। दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ भने जलविद्युत् आयोजना, विद्यालय, रिसोर्ट र कृषि फार्ममा समेत क्षति पुगेको छ। बाढीपहिरोबाट २५६ पशुचौपाया तथा २१५ कुखुरा मरेका छन्।
यसैबीच, निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र आंशिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।