जाजरकोटमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
जुनीचाँदे गाउँपालिका–५ पाँगामा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै मृत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको देखिएको थियो।
घटनास्थलबाट प्रहरीले धारिलो हतियार खुर्पासमेत बरामद गरेको जनाएको छ। घटनाबारे अनुसन्धान गर्ने क्रममा मृतककी माइली बुहारी सर्मिला शाहीको हत्यामा संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी सर्मिलालाई अदालतमा उपस्थित गराई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।