नारायणीको भीषण बाढीले बगायो ‘सिबिच’ बनाउने सपना, करोडौँका संरचना ध्वस्त
चितवन । नारायणगढ बजारसँगै रहेको नारायणी नदी किनारलाई ‘सिबिच’को ढाँचामा विकास गरी पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिकाको योजना भीषण बाढीले प्रभावित भएको छ। सङ्घीय सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घको लगानीमा निर्माण गरिएका नदी किनारका अधिकांश पर्यटकीय संरचना बाढीले क्षति पुर्याएको छ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार गत आइतबार नारायणीमा जलसतह ११ दशमलव ९३ मिटर पुगेको थियो। सन् १९६३ मा मापन सुरु भएयताकै उच्चमध्ये रहेको यो बहावले नदी किनारका फुटट्रेल, पार्किङ, बगैँचा, मोजाइक टायल तथा हरियाली संरचना बगाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ करोड ५० लाख रुपैयाँ खर्चेर निर्माण गरेको २ दशमलव ४ किलोमिटर फुटट्रेल र बगैँचा तथा महानगर र उद्योग वाणिज्य सङ्घले करिब ९७ लाख रुपैयाँमा बनाएको पैदलमार्गमा समेत क्षति पुगेको छ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहे पनि हरेक वर्ष आउने बाढीका कारण चुनौती थपिएको बताएका छन्। बाढीले नारायणगढ बजार क्षेत्रसमेत जोखिममा पारेको स्थानीयले बताएका छन्।
प्राविधिकहरूले भने नदीको प्राकृतिक बहाव र जोखिमको अध्ययन गरेर मात्रै अब तटबन्ध तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्।