नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतम बुद्ध विमानस्थल, निजी क्षेत्रको लगानी जोखिममा
भैरहवा । राज्यले करिब ३५ अर्ब रुपैयाँ लगानीमा निर्माण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। नियमित उडान नहुँदा विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा अन्य क्षेत्रमा लगानी गरेका रुपन्देहीका व्यवसायी चिन्तित बनेका छन्।
विमानस्थल सञ्चालनमा आउने र लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने अपेक्षामा निजी क्षेत्रले ठूलो लगानी गरेको थियो। तर, विभिन्न समयमा केही वायुसेवाले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडान निरन्तर हुन सकेका छैनन्।
पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानीभन्दा दोब्बरभन्दा बढी छ। नियमित उडान नहुँदा उक्त लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पनि विमानस्थलबाट कम्तीमा एउटा वायुसेवाको नियमित उडान सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैंकक–भैरहवा उडान गरेको थियो। त्यसयता विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन र तत्कालका लागि नयाँ उडान तालिका पनि प्राप्त भएको छैन।
विमानस्थल सञ्चालनमा आएदेखि हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा १ हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन्। ती उडानबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।
व्यवसायीले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भए लुम्बिनीमा विदेशी पर्यटकको आगमन बढ्नुका साथै होटल, पर्यटन, यातायात, रोजगारी र स्थानीय व्यापारिक गतिविधिमा समेत विस्तार हुने अपेक्षा गरेका छन्। अहिले भने विमानस्थलको पूर्वाधार तयार भए पनि नियमित उडान अभावमा पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।