न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षा घट्दै जाने
काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने भएको छ ।
मौसमविद्का अनुसार आज दिउँसो देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहे पनि एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्नेछ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी देखिएको हो । न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले गएराति मध्य भूभागका विभिन्न स्थानमा ठूलो वर्षा भएको उनले बताए ।
अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेकाले यसको प्रभाव पनि क्रमशः घट्दै गएको छ । यद्यपि आज केही स्थानमा वर्षाको गतिविधि जारी रहने मौसमविद्ले बताएका छन् ।
मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा बादल लागेको छ भने ती क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको अधिकारीले बताए ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा वर्षा हुन सक्नेछ ।
मधेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनीको दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज रातिदेखि भने भारी वर्षाको सम्भावना नरहेको र मौसममा उल्लेख्य सुधार आउने मौसमविद्को पूर्वानुमान छ ।