काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ चालक कारबाहीमा
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निगरानी तथा चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६०, सीसीटीभीबाट पहिचान भएका ५३, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ र तीव्र गतिमा सवारी चलाउने ९३ जना छन् ।
यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठीक नभएका १२ र एकतर्फी सडकको नियम पालना नगर्ने पाँच जना कारबाहीमा परेका छन् ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई समेत जरिवानासहित कारबाही गरिएको कार्यालयले जनाएको छ ।
सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइएको भन्दै ट्राफिक प्रहरीले चालकलाई नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ ।