सुस्ताबाट उद्धार गरिएको पोथी गैँडा सौराहामा छाडियो
चितवन । नारायणी नदीको बाढीले बगाएर नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सुस्ता गाउँपालिका–४ पुर्याएको पोथी गैँडालाई उद्धार गरी सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाढीले बगाएर सुस्ता पुगेको गैँडालाई उद्धार गरी ट्रकमार्फत सौराहा ल्याइएको थियो ।
गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो । उद्धार गरिएको गैँडा अन्दाजी पाँच वर्षको रहेको जनाइएको छ ।
हालसम्म आधिकारिक रूपमा एउटा गैँडा बाढीले बगाएको सूचना प्राप्त भए पनि अन्य गैँडासहित वन्यजन्तु पनि बाढीमा बगेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा आएको बाढीले पनि केही गैँडा बगाएर भारत पुर्याएको थियो । त्यतिबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडालाई उद्धार गरी नेपाल ल्याइएको थियो ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।