मर्स्याङ्दी नदी अझै तालकै अवस्थामा, बहाव खुलाउन प्रयास जारी
मनाङ । अविरल वर्षापछि घट्टेखोलाले बगाएर ल्याएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै तालकै अवस्थामा रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बग्न थाले पनि दायाँ–बायाँको क्षेत्र अझै तालकै रूपमा रहेको छ ।
बहाव खुलाउन दुवैतर्फबाट एक्साभेटर प्रयोग भइरहेको छ । तर, इन्धन ल्याउन समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको पौडेलले बताए ।
उनका अनुसार विज्ञको परामर्शमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा नदीको बहाव सञ्चालन गर्ने काम भइरहेको छ । चामे गाउँपालिकाले पनि स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका उपकरण प्रयोग गरी तालको पानीको बहाव खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेका अनुसार नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम भइरहेको छ । नदीले पुलमाथिबाट धार परिवर्तन गरेपछि आसपासका केही घर डुबानमा परेका छन् ।
लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलामा आएको बाढी र पहिरोका कारण विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट र सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैबीच, मर्स्याङ्दी नदीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावतमा समस्या भएको छ । ताचै क्षेत्र सडक सञ्जालबाट अलग भएको स्थानीयले बताएका छन् ।
बाढीपहिरोका कारण घोडेटो, गोरेटो र मोटरबाटोसमेत क्षतिग्रस्त भएपछि गाउँबाट अन्य स्थानमा आकस्मिक आवतजावत गर्नसमेत कठिन भएको स्थानीयको भनाइ छ । नासोँ–८ का वडाध्यक्ष याद घलेले आवश्यक स्रोतसाधनको अभावमा सडक सम्पर्क पुनःस्थापना गर्न समस्या भइरहेको बताए ।