आणविक हतियार भएका राष्ट्रलाई वार्तामा फर्कन गुटेरेसको आह्वान
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई निशस्त्रीकरणका लागि वार्तामा फर्कन आह्वान गरेका छन् ।
आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आणविक निशस्त्रीकरण राजनीतिक विकल्प नभई अन्तर्राष्ट्रिय सन्धिअन्तर्गतको कानुनी दायित्व भएको बताए ।
गुटेरेसले आणविक हतियारको प्रयोग रोक्न तथा नयाँ हतियारको दौड नियन्त्रण गर्न संवाद र हतियार नियन्त्रणका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले अमेरिका र रूसलाई म्याद सकिएको नयाँ रणनीतिक हतियार कटौती सन्धिको उत्तराधिकारी व्यवस्था निर्माणका लागि वार्ता गर्न आग्रह गरे । साथै, सबै आणविक हतियार भएका राष्ट्रले आफ्ना सुरक्षा नीतिमा आणविक हतियारको भूमिका क्रमशः घटाउनुपर्ने बताए ।
आणविक हतियारको विस्तार तथा आधुनिकीकरण र प्रविधिको विकासले गलत निर्णय तथा आकलनको जोखिम बढाएको उल्लेख गर्दै गुटेरेसले आणविक जोखिम नियन्त्रणका लागि स्थापित सुरक्षा संयन्त्र कमजोर हुँदै गएको बताए ।
उनले भावी पुस्तालाई आणविक हतियारको छायाबाट मुक्त गर्न आणविक हतियारमुक्त भविष्य निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।