दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न नेपाल प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न निर्देशन दिएको हो।
प्रसाईंलाई सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्यूरोले घरबाटै पक्राउ गरेको थियो। साइबर ब्यूरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
रास्वपा सांसद खतिवडा जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका रसिक खतिवडाकी आमा हुन्। उनले प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेन–जी आन्दोलनका शहीदलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै उजुरी दिएको प्रहरीले जनाएको छ।
सर्वोच्चको आदेशसँगै प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार, पक्राउको कारण तथा अनुसन्धानसँग सम्बन्धित विवरण अदालतमा पेश गर्नुपर्ने भएको छ।