रातोपुलबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रहरीले काठमाडौंको रातोपुलबाट लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–९, गाईघाटका २५ वर्षीय मनोज कार्की र रामेछापको मन्थली नगरपालिका–४ का २२ वर्षीय अजय रेश्मी मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई सोमबार साँझ काठमाडौं महानगरपालिका–९ स्थित रातोपुलबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट ५६० क्याप्सुल ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
रातोपुल क्षेत्रमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।