राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डिएनए परीक्षणलाई थप तीव्र, प्रभावकारी र विश्वसनीय बनाउन तथा यसको सेवा प्रदेशस्तरमा विस्तार गर्न विधेयक आवश्यक परेको बताए। विधेयकमा प्रयोगशालाबाट संकलित तथ्याङ्क अनधिकृत रूपमा बाहिरिन नदिने व्यवस्था गरिएको उनले जानकारी दिए। मन्त्री पुनले विधेयकमाथि सांसदहरूले यसअघि विस्तृत रूपमा छलफल गरी शब्द–शब्द केलाएको समेत बताए।
विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिँदै आ–आफ्नो धारणा राखेका थिए। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।