संघीय संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुने
काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो ।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । सरकारको सिफारिसअनुसार राष्ट्रपतिबाट अधिवेशन अन्त्यको निर्णय हुनेछ ।
वैशाख २८ गतेदेखि सुरु भएको यस चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन निर्माण गरेको थियो । यस अवधिमा संसद् नभएको समयमा सरकारले जारी गरेका अध्यादेशसमेत संसद्बाट स्वीकृत भएका छन् ।
त्यस्तै, ती अध्यादेशमार्फत संशोधन गरिएका विषयलाई समेटेर सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भएर ऐनमा रूपान्तरित भएका छन् ।
सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै अब संसद्का दुवै सदनको नियमित बैठक बिहीबार राति १२ बजेपछि अन्त्य हुनेछ ।