देउवाको अपिल– ‘वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुनुस्’
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आज हुने वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गर्न लागेको हो । देउवाले विधि र प्रक्रिया पूरा गरी अधिवेशनलाई हर्षोल्लासका साथ सम्पन्न गर्न कांग्रेसका सबै सदस्यलाई आग्रह गरेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले लामो समयदेखि संघर्ष गरेको उल्लेख गर्दै १५औँ महाधिवेशन महत्वपूर्ण रहेको बताएका छन् ।
कांग्रेस संस्थापन पक्षको महाधिवेशन असोज १८ गतेदेखि सुरु हुने कार्यतालिका छ भने देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ ।