अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, ९ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको अफगान पक्षको दाबी छ ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरलाई लक्षित गरी आक्रमण गरिएको थियो । उनका अनुसार तीनवटा घरसमेत ध्वस्त भएका छन् ।
पाकिस्तानले भने अफगानिस्तानमा रहेका आतंकवादीका लुकेका स्थान तथा शिविरलाई लक्षित गरी हवाई कारबाही गरिएको जनाएको छ । पाकिस्तानको प्रारम्भिक विवरणअनुसार कारबाहीमा २२ जना आतंकवादी मारिएका छन् ।
पाकिस्तानले अफगान भूमिबाट तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका समूहले गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टीटीपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।
दुवै पक्षले सार्वजनिक गरेको हताहतको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । दुई देशबीच सीमापार हिंसा र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि तनाव रहँदै आएको छ ।