दूरसञ्चार सेवा सुधार्न प्रभावकारी नियमन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको गुनासो बढिरहेको भन्दै मन्त्री तिमिल्सिनाले प्राधिकरणका पदाधिकारीसँग सेवा अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन् । उनले सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्री तिमिल्सिनाले न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिए । गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण, सवारीसाधन र जनशक्तिको व्यवस्था गरी नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण पर्याप्त नभएको तथा पूर्वाधार र नेटवर्क क्षमतामा पर्याप्त लगानी हुन नसक्दा केही क्षेत्रमा समस्या देखिएको जानकारी दिएका थिए । प्राधिकरणले फोरजी सेवा विस्तार, विद्यमान सेवाको गुणस्तर सुधार तथा फाइभजी सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने जनाएको छ ।
प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गरिने बताए ।