रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो
काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
ट्रयाक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताए । निर्माण तथा मर्मतका क्रममा बाक्लो सवारी आवतजावत हुँदा काम प्रभावित भइरहेको भन्दै उनले आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
यसैबीच, सडकखण्डमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने रसुवातर्फको फाउन्डेसन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी भइरहेको र आगामी एक साताभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालले बताएका छन् । बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि प्रभावित बनेको रसुवा आवतजावत ट्रयाक खुलेसँगै सहज हुने अपेक्षा गरिएको छ ।