प्रधानमन्त्री शाह र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण नेपालले कठिन परिस्थिति सामना गरिरहेका बेला अष्ट्रेलियाले व्यक्त गरेको ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्याएको सहयोग, सहायता टोली तथा विशेषज्ञ जनशक्तिको परिचालन र राहत सामग्री तथा उपकरण उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरे । अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको मित्रता र ऐक्यबद्धताको महत्वपूर्ण अभिव्यक्ति भएको उनले बताए ।
भेटमा बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
राजदूत अन्स्र्टले विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्दै हालै संयुक्त राष्ट्रसङ्घमा नेपालको उपस्थितिको प्रशंसा गरेका थिए । भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, मानव संसाधन विकास र दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ ।