बझाङमा बोलेरो जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बझाङ । सुर्मा गाउँपालिका–२ मन्दोगडीमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २६ वर्षीय चालक कुन्दन बोहराको मृत्यु भएको हो । जिपमा चालकसहित तीन जना सवार थिए । दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।
जिप स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको प्रारम्भिक जानकारी छ ।