बाढीपहिरो पीडितका लागि विशेष राहत प्याकेज घोषणा गर्न सांसदहरूको माग
काठमाडौं । सांसदहरूले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाढीपहिरोको समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका संयन्त्रलाई एकीकृत आपतकालीन संयन्त्रमार्फत परिचालन गर्न माग गरे । उनले मृतकका परिवार, घाइते, विस्थापित तथा घरबारविहीनका लागि विशेष राहत र पुनःस्थापनाको व्यवस्था गर्न आग्रह गरे ।
श्रेष्ठले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए । गण्डकी प्रदेशका सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले वैकल्पिक आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आले मगरले मनाङ, म्याग्दी, पर्वत, बागलुङ, पाल्पालगायत जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विपद् व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान र सीप उपयोग गर्नुपर्ने बताए ।
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्धार, राहत र पुनःनिर्माणलाई प्राथमिकता दिन माग गरिन् । उनले बेपत्ताको खोजी, शव पहिचान तथा परिवारलाई बुझाउने प्रक्रिया राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताइन् ।
यस्तै, सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा सडक पूर्वाधार सुधार, बजार अनुगमन तथा यात्रुको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।