रुपन्देहीमा २ करोड ५१ लाखको गरगहना बरामद
रुपन्देही । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेलको जाँच गर्ने क्रममा विभिन्न प्रकारका गरगहना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरगहनामा हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, नाकको फुली, ब्रासलेटलगायत रहेका छन् । गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको छ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा परीक्षण गराउँदा त्यसमा करिब एक किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । बरामद गरगहनाको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
गरगहना र पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।