नेपाल–पोर्चुगल संसदीय सम्बन्ध मजबुत बनाउन मैत्री समूह सक्रिय हुने
काठमाडौं । नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय संसदले सक्रियता बढाउने भएको छ ।
नेपाल–पोर्चुगल संसदीय मैत्री समूहको पहिलो बैठकले दुई देशबीच संसदीय संवाद तथा सहकार्य विस्तारसँगै पोर्चुगलमा रहेका नेपालीका विषयलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको हो ।
मैत्री समूहका संयोजक एवं रास्वपाका सांसद जगदीश खरेलको अध्यक्षतामा बिहीबार बसेको बैठकमा नेपाल र पोर्चुगलबीचको संसदीय तथा जनस्तरीय सम्बन्ध र पोर्चुगलमा रहेका नेपालीको अवस्था तथा योगदानबारे छलफल भएको थियो ।
बैठकले दुई देशबीच आपसी हितका विषयमा सहकार्यका सम्भावना खोज्ने, संसदीय संवाद बढाउने तथा पोर्चुगलमा रहेका नेपाली समुदायसँग सम्बन्धित विषयलाई आवश्यकताअनुसार सम्बन्धित निकायसम्म पुर्याउने निर्णय गरेको छ ।
बैठकपछि संयोजक खरेलले मैत्री समूहलाई औपचारिकतामा मात्र सीमित नराखी दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताए । उनले पोर्चुगलमा रहेका नेपालीका समस्या र अनुभवलाई समेत प्राथमिकतामा राखेर आवश्यक विषय सम्बन्धित तहमा उठाइने जानकारी दिए ।
संघीय संसदको संसदीय मैत्री समूहको कार्यविधि, २०८३ अन्तर्गत गठन भएको समूहमा विभिन्न दलका सांसद सदस्य छन् । आगामी दिनमा दुई देशका सांसद तथा सम्बन्धित निकायबीच सम्पर्क र सहकार्य विस्तार गर्ने तयारी समूहले गरेको छ ।