गोर्खा भर्तीबारे नेपालको निर्णय पर्खिरहेका छौँ : भारतीय रक्षा अधिकारी
भारतीय सेनामा रोकिएको गोर्खा भर्ती प्रक्रियाबारे भारतले नेपालको निर्णयको प्रतीक्षा गरिरहेको जनाएको छ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले हाल देखिएको समस्या अस्थायी रहेको बताउँदै नेपालले आफ्नो धारणा स्पष्ट गरेलगत्तै गोर्खा भर्ती पुनः सुरु हुने विश्वास व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्ध शताब्दीऔँदेखिको साझा इतिहास र सभ्यतामा आधारित रहेको उल्लेख गरे। उनले गोर्खा सैनिकसँग सम्बन्धित देखिएका असमझदारी छिट्टै समाधान हुने र दुई देशबीचको सहकार्य अझ सुदृढ हुँदै जाने बताए।
उनले अग्निवीर योजनाका कारण उत्पन्न अन्योल अस्थायी रहेको स्पष्ट पार्दै यसलाई युवाहरूका लागि अवसरका रूपमा बुझ्न आग्रह गरे। उनका अनुसार गोर्खा सैनिक भारतीय सशस्त्र बलको अभिन्न अंग रहँदै आएका छन् र नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया पुनः नियमित हुने छ।
“गोर्खाहरू दुई शताब्दीदेखि भारतीय सेनाको महत्वपूर्ण हिस्सा हुन्। नेपालबाट भर्ती हुने परम्परा निरन्तर रहँदै आएको छ। आवश्यक विषयमा सहमति जुटेपछि पुरानै प्रणालीअनुसार भर्ती प्रक्रिया अघि बढ्नेछ,” उनले भने।
नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि भारतसँगको कनेक्टिभिटीका कारण व्यवहारिक रूपमा समुद्रसम्म पहुँच पाएको देशको रूपमा विकास हुँदै गएको उनले बताए। ‘सागरमाला’ परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटी सुधार भएको र यसले नेपाल–भारत व्यापारलाई सहज बनाएको उनको दाबी छ।