वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–८ बस्ने सोही महानगरपालिका–२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ बस्ने धादिङ गल्छी गाउँपालिका–३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।
पक्राउ मध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।