भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु
भारत–पाकिस्तान सीमा क्षेत्रमा दुई पाकिस्तानी नागरिकको गोली लागेर मृत्यु भएपछि दुवै देशले घटनाबारे फरक–फरक दाबी गरेका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले पञ्जाबको बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले निहत्था पाकिस्तानी नागरिकमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको दाबी गर्दै भारतीय कार्यवाहक राजदूतलाई बोलाएर विरोध जनाएको छ । पाकिस्तानले घटनाको तत्काल र पारदर्शी छानबिन गर्न भारतसँग आग्रह गरेको छ ।
उता, भारतीय पक्षले पञ्जाबको तरनतारनस्थित राजोके क्षेत्रमा दुई पाकिस्तानी नागरिकले भारतीय भूमितर्फ प्रवेश गर्ने प्रयास गरेपछि बीएसएफले गोली चलाएको जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीएसएफले उनीहरूलाई पटक–पटक फर्किन चेतावनी दिए पनि अघि बढेपछि गोली चलाएको दाबी गरिएको छ ।
घटनामा दुई जनाको मृत्यु भएको र अर्का एक व्यक्ति पाकिस्तानतर्फ फर्किएको भारतीय पक्षको दाबी छ । घटनाको वास्तविक परिस्थितिबारे भने दुवै देशका विवरण फरक छन् ।