एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार भएका सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले र भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
वर्षाका कारण १३ ओभरमा घटाइएको पहिलो सेमिफाइनलमा बंगलादेशले ७ विकेट गुमाएर १११ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको लक्ष्य पूरा गरेको हो ।
दोस्रो सेमिफाइनलमा भारतले इशान किशनको ८० रनको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो ।
भारत र पाकिस्तानबीचको फाइनल शनिबार बिहान १०ः१५ बजे हुनेछ । तेस्रो स्थानका लागि श्रीलंका र बंगलादेशबीच शनिबार बिहान ५ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।