राष्ट्रियसभा अध्यक्ष दाहालसँग फ्रान्सेली संसदीय टोलीको शिष्टाचार भेट
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा फ्रान्सेली संसद्को तल्लो सदनअन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोन नेतृत्वको टोलीले भेट गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
भेटमा नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यका विषयमा छलफल भएको थियो। अध्यक्ष दाहालले संसदीयमैत्री समूहको भ्रमणले दुई देशबीचको द्विपक्षीय तथा संसदीय सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि सङ्घीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीयमैत्री समूह गठन गरिएको जानकारी दिँदै संसदीय अभ्यास र अनुभव आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।
गत भदौमा आएको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिले पठाएको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली सङ्घमार्फत उपलब्ध मानवीय सहायताप्रति पनि अध्यक्ष दाहालले आभार व्यक्त गरे। उनले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै फ्रान्सेली सरकारको सहयोगको प्रशंसा गरे।
भेटका क्रममा फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको बताउँदै यहाँको वातावरणबाट प्रभावित भएको उल्लेख गरिन्। उनले दुवै देशका संसदीयमैत्री समूहबीच सहकार्य र संसदीय अभ्यासको आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन्।