पत्रकारमाथि धरपकड र प्रेस स्वतन्त्रता नियन्त्रणको प्रयासविरुद्ध महासंघको आन्दोलन घोषणा
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै त्यसको कडा विरोध गरिएको छ।
महासंघले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु तथा गोरखापत्रलगायत सरकारी र निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको घटनाप्रति पनि आपत्ति जनाएको छ।
त्यसैगरी, श्रम अधिकारको उल्लंघन र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार नभएको विषयलाई पनि आन्दोलनको प्रमुख कारण बनाइएको महासंघले जनाएको छ।