सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीपङ्क्तिलाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन्।
मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकको राजनीतिक अवस्थालाई ध्यानमा राखेर आन्दोलनको तयारी गर्नुपर्ने बताए।
उनले आन्दोलनका लागि सधैँ लामो तयारी गर्न सम्भव नहुने भन्दै आवश्यकता पर्दा तत्काल आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।
‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ ओलीले भने।
उनले जुनसुकै समयमा आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।