जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकअघि जुम्लाबाट ल्याइएको स्याउ वितरण गरिएको थियो ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनका विषयमा छलफल भइरहेको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताएका छन् ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानबारे छलफल हुने कार्यसूची छ ।
त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि समीक्षा तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।
