भोटेकोशी बाढीका शव व्यवस्थापनमा खटिएका ६५ एम्बुलेन्स चालक सम्मानित
भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव व्यवस्थापनमा खटिएका ६५ जना एम्बुलेन्स चालक सम्मानित भएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा चितवनले पाँचौँ साधारणसभा तथा अधिवेशनका अवसरमा चालकहरूलाई सम्मान गरेको हो । बाढीपछि नारायणी नदी किनारबाट शव भरतपुर अस्पतालसम्म ल्याउने तथा परीक्षणपछि देवघाटसम्म पुर्याएर व्यवस्थापन गर्ने कार्यमा उनीहरू खटिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्का समयमा एम्बुलेन्स चालकहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
भोटेकोशी बाढीका क्रममा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की र नुवाकोटका एम्बुलेन्स शव व्यवस्थापनमा परिचालन भएका थिए । चितवनमा बाढीपछि ३६९ वटा शव फेला परेका थिए ।
यसैबीच अधिवेशनले कल्याण लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।